काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।
भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको भन्दै बस्नेतले बस्ती स्थानान्तरणको माग गरेका हुन् । ‘भूकम्प प्रभावित क्षेत्रबाट बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । ती बस्तीहरु स्थानान्तरण हुन नसक्दा अझ बढी जनधनको क्षति हुने परिस्थिति निर्माण भइरहेको छ,’ पूर्वमन्त्री बस्नेतले भने ।
उनका अनुसार ८२ स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ र मनसुनसम्म आइपुग्दा त्यो संख्या अझै बढेको अनुमान छ ।
सरकारले राहतका निम्ति अस्थायी आवास बनाउनका लागि केही रकम उपलब्ध गराए पनि तिनै अस्थायी अवासहरु पहिरोका कारणले फेरि क्षतिग्रस्त भएका छन् ।
अहिलेको कार्यविधिले त्यस्ता पीडितहरुलाई दोहोरो सुविधा नदिने भने पनि पहिरोको कारणले क्षतिग्रस्त भएका अस्थायी आवास व्यवस्थापनका लागि थप राहत उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराए ।