जनकपुरधाम ।
महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद ज्यान गएको छ । ज्यान गुमाउनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन् ।
माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगलबार मध्य राति १ बजे ज्यान गएको हो ।
घरपरिवारले अचानक बिरामी भएर ज्यान गएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।
डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ ज्यान गएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।
यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट घर फर्किएकी थिइन् ।
मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ ।














