इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

दाङ ।

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनीहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए । त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो ।

दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।

  • ५ भाद्र २०८१, बुधबार १६:०१ प्रकाशित