गण्डकीमा लेक लागेर एक वर्षमा २१ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

कास्की ।

पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर ज्यान गुमाउनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् ।

‘अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्’, उनले भने, ‘हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।’

लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उनको भनाइ छ । लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उनले बताए । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्याङ्क राख्न सुरु गरेको प्रमुख डा कडरियाको भनाइ छ ।

उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ । कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको ज्यान गएको आयोजना प्रमुख डा.कडरियाले जानकारी दिए । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको उनको भनाइ छ ।

अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।

  • ५ भाद्र २०८१, बुधबार १५:०५ प्रकाशित