पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

पहिरोका कारण कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडक अवरुद्ध भएका छन् ।

बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । बौदिकाली गाउँपालिका–३ जन्तीपहिरोमा गएराति पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

जन्तीपहिरोमा लेदोसहित पहिरो खसेको छ । तत्काल पहिरो हटाउन सक्ने अवस्था नरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। सडक अवरुद्ध हुँदा नारायणगढ–गैँडाकोट हुँदै नवलपरासी पूर्वका पहाडी क्षेत्र तथा पाल्पा, स्याङ्जाका लागि चल्ने गाडी चल्न सकेका छैनन् ।

यस्तै म्याग्दीको बेनी–दरबाङ सडक पनि अवरुद्ध छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको हो ।

निरन्तरजसो पानी परेको र पहिरो पनि खसिरहेकाले निक्कै समस्या भएकोे सिङ्गा तातोपानीका व्यवसायी कुमार केसीले बताउनुभयो । यो सडकमा वर्खामा निरन्तरजसो पहिरो झर्ने गरेको छ ।

  • ४ भाद्र २०८१, मंगलवार १०:५१ प्रकाशित