कास्कीमा मोटरसाइकल स्वरुप परिवर्तन गर्ने २०३५ जनालाई कारबाही (भिडियो)

थप १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा, २९ लाख रुपैयाँ राजश्व उठ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने २०३५ जना कारबाहीमा परेका छन् । गत २५ भदौ २०८० देखि गत असार मसान्तसम्मको अबधीमा मोडिफाई गरेर चलाउने मोटरसाइकल चालकबाट जरिवाना स्वरुप २९ लाख रुपैयाँ राजश्व संकलन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारबाही गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार यही ३० साउन देखि आइतबार (२ भदौ) सम्म थप १४९ थान मोटरसाइकल नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि कास्की प्रहरी परिसरमा राखिएको छ । स्वरूप परिवर्तन गरिएका मोटरसाइकल मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीको लागि यातायात कार्यालय पठाइएको उनले जानकारी दिए । थप पक्राउ परेकाको अनुसन्धान चलिरहेको छ ।

एसपी थापाले विगतमा पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाइएको जानकारी दिए । उनीहरुलाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरेर अभिभावकको जिम्मा छाडिएको थियो । तर अहिले चौथो पटकसम्म मोडिफाइ गराउने समेत भटिएका छन् ।

उनीहरुलाई अब कानून अनुसार कारबाही गरिने र एक वर्षसम्म कैद जरिवाना हुनसक्ने उनले बताए । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रङ परिवर्तन गर्न नपाईने व्यवस्था छ ।

  • २ भाद्र २०८१, आईतवार १५:०१ प्रकाशित