पहिरोले गुल्मीको तम्घास–रिडी-वामीटक्सार सडक अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

गुल्मी ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

  • २ भाद्र २०८१, आईतवार १०:०८ प्रकाशित