डेंगु नियन्त्रणका लागि मन्त्रालयले सुरु गर्‍यो कार्यालय सरसफाइ अभियान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालयरघर सरसफाइ अभियान सुरु गरेको हो ।

निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घररकार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन नागरिकसँग समेत आग्रह गरेको छ ।

शुक्रबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाइमा जुटेका छन् । मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ ।

अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगुको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान सुरु गरेको बताए ।

उनले डेंगुको नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरु गरेको बताए । उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए ।

उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्य मन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए । हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन उनले आग्रह गरे ।

  • ३२ श्रावण २०८१, शुक्रबार १४:४८ प्रकाशित