सेवाग्राही खचाखच रहने पोखराका दुई यातायात कार्यालय प्रमुख विहिन (भिडियो)

मर्कामा सेवाग्राही , व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयलाई अनुरोध गरेका छौं : यातायात व्यवस्थापन महाशाखा

केन्द्रभाग मिडिया

पोखरा ।

यातायात व्यवस्था कार्यालय (सवारी) कास्की र यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र) कास्की दुबै कार्यालय प्रमुख विहिन छन् । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रका तत्कालिन प्रमुख जीतेन्द्रजंग केसी मध्य जेठमा सरुवा भई  जिल्ला समन्वय अधिकारी बनेर नवलपुर गएदेखि नै कार्यालय प्रमुख विहिन छ । यस्तै यातायात व्यवस्था कार्यालय सवारीका प्रमुख डिल्लीराम रिजाल मुख्यमन्त्री कार्यालय सरुवा भएसंगै उक्त कार्यालयपनि प्रमुख विहिन भएको हो ।  कार्यालय प्रमुख नभएको लामो समय हुँदा दुबै कार्यालयमा सेवा प्रभावित भएको कर्मचारीहरुले नै बताएका छन् ।

कम दरबन्दी र भएका करार कर्मचारी समेत हटेकाले सेवाग्राही मर्कामा परेका हुन् । मन्त्रालय, विभाग र अन्य सरोकारवाला निकायसंग समेत सहकार्यमा समस्या उत्पन्न भएको यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमति पत्र कास्कीका शाखा अधिकृत विष्णु बहादुर थापाले जानकारी दिए ।

दैनिक दुई हजार सेवाग्राहीको भीड रहने उक्त कार्यालयमा ३४ जनाको स्थायी दरबन्दी रहेकोमा हाल १८ जना कर्मचारी कार्यरत छन् । कर्मचारी अभावकै कारण कतिपय शाखामा कामसमेत रोक्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । शाखा अधिकृत थापाले ७ जना कर्मचारी तत्काल छनोटका लागि टेण्डर प्रक्रियामा रहेको बताए ।

साउनमा कामको लोड धेरै नभएपनि सिमित कर्मचारीले कार्यालय धान्नु परेको यातायात व्यवस्था कार्यालय (सवारी) कास्की निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए । ‘कार्यालय प्रमुख नहुँदा विभाग, मन्त्रालय र अन्य सरोकारवालासंगको सहकार्य र समन्वयमा समस्या भएकै छ । साउनको महिना सेवाग्राहीको चाप नभएकोले त्यत्ति समस्या भएन । तर, सिमित कर्मचारीले कार्यालय सञ्चालन गर्दा स्वभाविक समस्या हुन्छ नै’ उनले भने ।

कर्मचारी व्यवस्थापनका लागि मुख्यमन्त्री कार्यालयलाई अनुरोध गरेका छौं : यातायात व्यवस्थापन महाशाखा प्रमुख रेग्मी

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख प्रदिप कुमार रेग्मीले कार्यालय प्रमुख विहिन भएकाले तत्काल कर्मचारी पठाउन मुख्यमन्त्री कार्यालयमा आग्रह गरिएको बताए ।

मन्त्रालय र समग्र प्रदेश सरकारकै महत्वपूर्ण भूमिका देखाउने कार्यालय यातायात कार्यालयहरु रहेको भन्दै उनले ती कार्यालय प्रमुख विहिन राख्न नहुनेमा आफूहरु सचेत रहेको तर, कर्मचारी खटनपटन गर्ने काम मुख्यमन्त्री कार्यालयको रहेको उनले सम्झाए ।

‘सेवाग्राही अत्याधिक चाप हुने र मन्त्रालय अनि प्रदेश सरकारको नै सेवा प्रवाह जनताले प्रत्यक्ष नियाल्ने कार्यालय भएकाले हामी यातायात व्यवस्था कार्यालयहरु प्रमुखविहिन बनाउन नहुनेमा सचेत छौं । कर्मचारीको खटनपटन मुख्यमन्त्रीको कार्यालयले गर्ने भएकाले हामीले निरन्तर अनुरोध गरेका छौं । छिट्टै व्यवस्थापन हुन्छ होला’ उनले भने ।

  • ३१ श्रावण २०८१, बिहीबार १५:१६ प्रकाशित