स्कूल बस मापदण्ड अनुरुप बनाउन अटेर

निर्देशिकाको गलत व्याख्या गर्दै विद्यार्थी कोच्दै, अपतकालिन ढोका छैनन, गति अत्याधिक

गोविन्द सुवेदी

पोखरा ।
पोखरामा चल्ने अधिकांस स्कुल बसहरु स्कूल बस निर्देशिका २०७४ विपरित सञ्चालन भइरहेको पाइएको छ । केही नाम चलेका विद्यालयले अझैपनि निर्देशिका अनुरुप स्कूल बसको बाहिरको रङ पहेँलोमा परिणत समेत गरेका छैनन् ।

क्षमता भन्दा धेरै विद्यार्थी बोकेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्मा विद्यालयहरुले स्कूलबस निर्देशिका कार्यन्वयनमा लैजाने प्रतिवद्धता जनाएपनि अधिकांसले कार्यन्वयन गरेको नपाएको बताए । यद्यपी पहिले भन्दा सुधार भने भएको उनको दाबी छ ।

कास्कीमा २ सय हाराहारीमा निजी विद्यालयहरु छन् । यि विद्यालयका झण्डै ५ सय भन्दा बढी बसले विद्यार्थी बोक्छन् । यसरी विद्यार्थी बोक्ने बसलाई विहान विद्यालय समयमा विद्यालय विद्यार्थी पु¥याउन हतार हुन्छ । धेरै ठाउँ पुग्नुपर्ने, सिमित साधनले गर्दा स्कुलबसको गति धेरै नै हुन्छ । एक बस चालकले सबैतिर भ्याउनुपर्ने भन्दै विस्तारै हाँके विद्यालयमा समयमा विद्यार्थी पु¥याउन नसकिने प्रतिक्रिया दिए । स्कुल बस निर्देशिका २०७४ अनुसार स्कुल बसको अधिकतम गती ४० किलोमिटर प्रतिघण्टा भन्दा हुनु हुँदैन ।

  • २ सिटमा ३ जना बारे गलत बुझाई

स्कूल बस निर्देशिका अनुसार १२ बर्षभन्दा मुनिका विद्यार्थीलाई सिट क्षमता भन्दा १.५ गुणा धेरै राखेर ओसारपसार गर्न सकिन्छ । यसरी हेर्दा २ सिटमा १२ बर्ष मुनिका ३ विद्यार्थी बस्न सक्छन् । तर यसैलाई अपब्याख्या गर्ने वा गलत बुझाईका कारण ठूला उमेरका विद्यार्थीलाई नै त्यसरी कोच्ने गरेको पाइएको ट्राफिक प्रमुख शर्मा बताउँछन् । ‘कुनै बसको सिट क्षेमता ४० रहेछ भने त्यसैलाई अपब्याख्या गरेर ६० जना कोच्ने गरिन्छ,’ उनले भने, ‘किन धेरै कोचेको भन्यो भने निर्देशिकाले नै २ सिटमा ३ जना भनेको छ भन्छन्, १२ बर्ष मुनिकालाई मात्र हो भनेर सम्झाउनुपर्ने अवस्था छ ।’ उनका अनुसार यसरी धेरै विद्यार्थी कोच्ने सवारी साधन कारबाहीमा पर्ने गरेका छन् । बुधबार मात्र चेकजाँच गर्ने क्रममा ड्राइभर सिटसहित जम्मा ४१ सिट क्षेमताको बसमा ७० जनासम्म यात्रा गरेको पाइएको उनले सुनाए ।

  • थोत्रा बसको प्रयोग

पोखराका केही विद्यालयहरुले अझै पनि २० वर्ष पुराना बस मार्फत विद्यार्थी ओसार्ने गरेका छन् । बाटोमा प्रर्दुशण गर्ने यस्ता गाडी रङरोगन गरेर बाहिर चिटिक्क परिएका हुन्छन् । ‘सर्वजनिक यातायातका साधन हिजो थोत्रा भएपछि स्कुलले किन्ने र त्यसैलाई रङरोगन गरेर चलाउने गरेको सत्य हो, एक विद्यालय सञ्चालकले भने, ‘अहिले पनि केही विद्यालयले अनुरोध नै गर्दा समेत हटाउन मानेका छैनन् ।’

प्यावसन कास्कीका अध्यक्ष मथुरा पौडेल त्यस्ता पुराना गाडी अझै सञ्चालनमा हुन सक्ने बताए । ‘मेरो नोटिसमा त छैन, तर केही पुराना गाडी नहोलान् भन्न सकिन्नँ’ उनले भने । यस विषयमा ५ सदस्यीय एउटा समिति बनेको र व्यापकरुपमा छलफल भइरहेको उनले सुनाए ।

  • आपतकालिन ढोका छैनन्, ढोका खुलै राखेर बस हुइकन्छन्

निर्देशिका अनुरुप बसको रङ परिवर्तन गरेका बसले पनि स्कूल बसको भौतिक मापदण्ड पालना गरेका छैनन् । अधिकांस स्कूल बसहरुमा पछिल्लो आधा मागको दाहिनेतिर आपतकालिन द्धार (इमरजेन्सी इक्जिट्स) को व्यवस्था हुनुपर्छ । बस चल्दा ढोका बन्द गरेर चलाइनुपर्छ । स्कूल बसको झ्यालमा कम्तिमा पनि ३ वटा आल्मुनियम ट्युवको ग्रील बसको दुबै तर्फ लगाइएको हुनुपर्छ । प्राथमिक उपचार बक्सको व्यवस्था हुनुपर्छ ।

बसको प्राविधिक जाँचपास सार्वजनिक सवारी साधन अनुरुप हुनपर्ने छ । तर, स्कूल बस भित्र्याउँदा नै यस्ता कूरामा ध्यान दिनुपर्ने प्यावसन कास्कीका निवर्तमान अध्यक्ष प्रेम प्रसाद शर्मा बताउँछन् । ‘स्कूल बस सोरुमबाट किनेर ल्याउने अनि फेरी इमरजेन्सी ढोकाका लागि काट्न लगाउने भन्ने कूरा सही हुन सक्दैन ।’ उनले भने, ‘स्कूल बस नै भनेर भन्सार जाँचपास गरेर ल्याइएको हुन्छ । इमर्जेन्सी डोर र रड जस्ता कूरा जाँचपासमा हेरेर मापदण्ड नपुगे भित्र्याउन भएन । भित्र्याउने अनि सोरुमबाट निकालेपछि फेरी वर्कसप लैजाँदा समग्र देशकै पैसा समेत बर्बाद हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।’

  • मपदण्ड कार्यान्वयनमा लागि परेका छौं : शिक्षा महाशाखा प्रमुख आचार्य

पोखरा महानगरापालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य स्कूल बस निर्देशिका कार्यान्वयनमा आफूहरु लागि परेको बताउँछन् । विद्यार्थी बोक्ने जस्तो सम्बेदनशिल विषयमा विद्यालयहरु जिम्मेवार बन्नुपर्ने उनले बताए । इमरेजन्सी ढोका लगायतका विषयमा जस्तो आयात भयो त्यस्तै चलायौं भन्नु गैरजिम्मेवारीपन हुने उनको भनाई छ ।

स्कूल बस अर्डर गर्दा नै यो मापदण्डको यस्तो बस भनेर ल्याउनुपर्ने उनले बताए । स्कूल बस निर्देशिकाको विषय अधिकांश यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित रहेको पनि उनले सुनाए ।

 

  • ३१ श्रावण २०८१, बिहीबार ०९:३८ प्रकाशित