पोखरा ।
पोखरामा प्रहरीको सीआईडी हौ भन्दै सर्वसाधरणलाई दुख दिई पैसा असुल्ने दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ३२ का सन्दिप श्रेष्ठ र वडा नम्बर ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
यही साउन २७ गते दिउँसो ३ बजेर ३० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कमा उनीहरुले आफुहरु सादा पोशाकका प्रहरीको सीआईडी भएको बताउँदै सर्वसाधारण नागरिकलाई दुख हैरानी दिने गरेको सुचना प्रहरीले पाएको थियो । सो सुचना पाएपछि प्रहरीले उनीहरुको खोजी थालेको थियो ।
उनीहरुले नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको सुचना प्रहरीले पाएको थिथयो ।
सुचना पाउनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिई सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरु माथि समेत उनीहरुले अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ।
हाल उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थय, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।