धर्मनिरपेक्षताको पक्षमा भोट दिनेको अनुष्ठान पूरा हुँदैन : अध्यक्ष लिंग्देन (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने बताएका छन् । पोखराको केदारेश्वर मन्दिरमा उपस्थित भक्तजनलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नु धर्म विरुद्धको कार्य भएको र धार्मिक मान्यता अनुसार धर्म विरुद्ध काम गर्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने उनको तर्क थियो । ‘‘तपाइँहरु जति यहाँ उपस्थित हुनुहुन्छ, अधिकांशले धर्म मास्नेहरुलाई भोट दिनुभएको छ । धर्म निरपेक्षता ल्याउनेलाई भोट दिनुभनेको धर्म विरुद्धको काम हो । धर्म विरुद्ध काम गर्नेहरुले गरेको धार्मिक अनुष्ठानले फल दिँदैन भन्ने हिन्दू धर्म शास्त्रको मान्यता छ’ उनले भने ।

अध्यक्ष लिंग्देनले कतिपय अवस्थामा देशभन्दा पनि माथि धर्म हुने औंल्याएका छन् । ‘हामीले दल र दर्शनभन्दा माथि देश भन्दै आएका छौं । सबैभन्दा माथि देश भन्दै आएका छौं । तर, देश भन्दा माथि धर्म हुँदोरहेछ’ उनले भने ।

पुजापाठ गर्न पाएकामा, धार्मिक अनुष्ठान लगाउन पाएकामा र नाचगान गर्न पाएकामा ढुक्क नहुन उनको आग्रह छ । उनले देशले विस्तारै धर्म निरपेक्षताका दुस्परिणाम भोग्न थालेको दाबी गरे । देशभित्र सनातन धर्म अल्प संख्यामा परेर यसको संरक्षणका लागि लड्नपर्ने अवस्था आउन सक्ने समेत उनले औंल्याएका छन् ।

भुटानबाट लाखौंको संख्यामा मानिसले देश छोडेर सरणार्थीको रुपमा आउन परेको स्मरण गराउँदै उनले उनीहरुले भुटानको सरकारले त्यहाँ बस्ने सबैले बुद्ध धर्म मान्नुपर्ने, बक्खु लगाउनुपर्ने र जोंखा भाषा बोल्नुपर्ने भएपछि देशभन्दा माथि धर्म, भाषा र पहिचान ठानेर बाहिरिनु परेको बताए ।

लिंग्देनको नजरमा हिन्दु राष्ट्र फर्काउने दुई उपाय
राप्रपा अध्यक्ष लिंग्देलले नेपालमा हिन्दु राष्ट्र कायम गराउने दुई वटा उपाए रहेको औंल्याएका छन् । पहिलो उपाय धर्मनिरपेक्षताका पक्षपातिलाई हराएर हिन्दुराष्ट्रका पक्षपातीलाई भोट दिने र दोस्रो उपाय  बंगलादेशको बाटो रोज्नुपर्छ । त्यो प्रिय बाटो होइन, त्यो अप्ठेरो बाटो हो ।

पहिलो बाटो हिन्दु राष्ट्र समाप्त गर्नेलाई हराएर हिन्दुराष्ट्रको पक्षमा रहेको पार्टीलाई भोट दिनुपर्छ । त्यसो भए शान्तिपूर्णढंगले नेपालमा हिन्दु राष्ट्र फर्किने उनको भनाई छ । दोस्रो उपाय भनेको बंगलादेशमा जस्तै विद्रोह रहेको उनले सुनाए । त्यो उपाय असहज र रहेको भन्दै उनले तर अन्तिम विकल्पमा त्यो उपाय अपनाउनुपर्ने अवस्था आउने समेत उल्लेख गरेका छन् ।

  • २८ श्रावण २०८१, सोमबार १६:१९ प्रकाशित