बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

केन्द्रभाग मिडिया

भरतपुर ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा सोमबार बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरीले बसचालक सप्तरी जिल्ला तिरुत गाउँपालिका २ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका २ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।

  • २८ श्रावण २०८१, सोमबार १२:३८ प्रकाशित