बेनीको आङखखेत कालीमुल जङ्गलमा गाडिएको अवस्थामा मानव कंकाल भेटियो

कंकाल छेउमै भेटियो सुनको सिक्री, कपडा र चप्पल

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ ।

शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको जानकारी दिए।

‘घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउने उनले बताएका छन् । अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएको र कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएको प्रहरीले बताएको छ।

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन्। घटनास्थलमा पुुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन्। मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

बेपत्ता मीना, कङ्काल, सामग्री र थुुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुुष्टि गर्न सकिने प्रहरीले बताएको छ ।

  • २८ श्रावण २०८१, सोमबार ०९:१७ प्रकाशित