डेंगी संक्रमणबाट २ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

झापा र तनहुँमा डेंगी संक्रमणबाट २ जनाको ज्यान गएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट झापामा एक महिला र तनहुँमा एक पुरुषको ज्यान गएको हो।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको ज्यान गएको जानकारी दिएका छन् । त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट ज्यान गएको पुष्टि भएको छ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ। नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ। गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको ज्यान गएको थियो।

  • २८ श्रावण २०८१, सोमबार ०९:१० प्रकाशित