रुकुम पश्चिम ।
रुकुम पश्चिमका एक युवकले आफुभन्दा २६ वर्ष जेठी महिला संगको प्रेम सम्बन्ध लुकाउन महिलाको हत्या गरेका छन । रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ माथिल्लो सार्केनाका २३ वर्षिय प्रमे मल्लले सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षिय सुशीला मल्लको हत्या गरेका हुन । उनीहरुको घर झण्डै ६ घण्टाको दुरीमा रहेको र प्रेमले सुशीलाको घरमा पुगी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
सुशीलाको घरमा पुगेका प्रेमलाई सुशीलाले आफुलाई बिहे गर्न दवाव दिएपछि उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा डिएसपी नवराज पोख्रेलले जानकारी दिए । आफ्नो गाउँमा सुशिला ‘माता’को रूपमा परिचित थिइन्। यता प्रेम पनि झारफुक गर्ने युवकको रूपमा चिनिन्थे ।
डेढ वर्षयता प्रेम र सुशीलाका बीच निरन्तर सम्बन्ध भएको खुलेको छ । त्यही प्रेम सम्बन्धलाई लुकाउनलाई नै प्रेमले सुशीलाको हत्या गरेको देखिएको डिएसपी पोख्रेलले बताए ।डिएसपी पोख्रेलका अनुसार प्रेम अविवाहित हुन् । सुशीलाका श्रीमानको करिब १९ वर्ष पहिले नै मृत्यु भइसकेको थियो ।
सुशीलाका तीन छोराहरूमध्ये दुई छोरा तेस्रो मुलुक र रोजगारीको सिलसिलामा कान्छा छोरा भारतमा छन्। सुशीला घरमा जेठी बुहारीसँगै बस्दै आएकी थिइन ।यसै विषयमा कुराकानी गर्न प्रेम साउन २१ गते सुशीलालाई भेट्न लामाचौरस्थित उनकै घरमा पुगेका थिए । प्रेम र सुशीला त्यो दिन रातिसँगै बसे । तर साउन २२ गते बिहान झिसमिसे नहुँदै प्रेम कसैले थाहा नपाओस् भनेर घरबाट निस्किएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
प्रेमले हत्या गरेपछि सुशीलाको फोनसमेत लिएर उनी त्यहाँबाट निस्किएका थिए। पछि प्रहरीले मोबाइल फोन प्रेमको कोठाबाट बरामद गरेको थियो ।सुशीलाको साउन २३ गते बिहान हत्या गरेको अवस्थामा फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनी, इप्रका चौरजहारीबाट प्रहरी निरीक्षक ईश्वरदेव गिरी घटनास्थल पुगेका थिए । घटनाको गम्भीरता हेरेर डिएसपी पोख्रेल पनि त्यहाँ पुगेका थिए ।
प्राविधिक रूपमा अनुसन्धान गरी सुशीलाको मोबाइल ट्र्याक गरेको थियो। मोबाइल कहिले खुल्ने, कहिले बन्द हुनेक्रम थियो।त्यही क्रममा प्रहरी साउन २५ गते चौरजहारी नगरपालिका–११ माथिल्लो सार्केनाका २३ वर्षीय प्रेम मल्लसम्म पुग्न सफल भयो ।