विराटनगर ।
अंश विवादमा मोरङको सुन्दरहरैंचामा आफ्नै श्रीमानद्धारा एक महिलाको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपालले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो । नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच झगडा भएपछि एक अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो । मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।












