भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

केन्द्रभाग मिडिया

चितवन ।
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूर्ण विषय भएको उल्लेख गरिन । भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश महत्व राख्ने उनको भनाइ थियो । प्रमुख दाहालले महानगरले एक वडा एक स्वास्थ्य संस्थाको नीति लिइ विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताइन । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार जेष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन ।

जिल्ला समवन्य समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरिन । चितवनभन्दा बाहिरा बालबालिकाहरु छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाई भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । विषेश गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ माघ र फागनु महिनामा ३१ हजार ८ सय ११ घरधुरी स्वास्थ्यकर्मी स्वयंमसेविका पुगी १२ हजार ७ सय ६३ जना बालबालिकालाई पूर्ण खोप सर्वेक्षण गर्दा १ वटा पनि खोप नलगाएको ६ जना भेटिएको थियो । अभियानमा आंशिक खोप लगाइएको २२९ जना गरी कुल २३५ जना खोप लगाइएको थियो । जिल्ला खोप समवन्य समितिबाट २०८१ असार २६ गते पूर्ण खोप दिगोपना सुनिश्चिता प्रमाणिकरण गरिएको थियो ।यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरुबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरु समुदायकस्तरमा सञ्चालन हुदै आएको छ ।

भरतपुर महानगरपालिकामा अन्र्तगत १ वटा प्रथामिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य क्लिनीक, १ वटा मातृ शिशु क्लिनीक, ६ वटा आर्युवेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।

  • २७ श्रावण २०८१, आईतवार १५:०४ प्रकाशित