साओ पाउलो ।
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। शनिबार हताहत हुनेको सङ्ख्या ६२ रहेको बताइएको थियो ।
भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो । भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२-५०० विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्य बोकेको बताएको थियो। तर पछि त्यहाँ थप एक यात्रु उडानमा रहेको पुष्टि भएको थियो।
सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोहरूमा एउटा विमान जमिनमा खसिरहेको देखिएको छ । विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भए पनि जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार ३४ जना पुरुष र २८ महिलाको शव सङ्कलन गरिएको छ । सबै शवहरूलाई साओ पाउलो सहरको एक शव गृहमा लगिएको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारहरूलाई हस्तान्तरण गरिनेछ । क्याप्टेन र फस्ट अफिसरको शव भने पहिले नै पहिचान भइसकेको छ।