विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको बताए ।

डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको घिसिङले दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् ।

पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनको दाबी छ । ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ ।

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत्‌को महशुल बिलको केही अंश भएपनि ४७ अर्ब नाफा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणबाट आएको विवरण रहेको जानकारी दिए ।

उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दाबी गरे ।

उनले तीन वर्षअघि विद्युतीकरणको अवस्था करिब ५८ प्रतिशत मात्रै रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको बताए । उनले अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेको बताए । प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको कार्य अगाडि बढी सकेको उनले बताए ।

कार्यकारी निर्देशक घिसिङले अब देश छिट्टै पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको बताए । उनले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी भएको भन्दै सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहर लगायत विपन्न वर्गका घर परिवारहरुमा विद्युत् पुर्‍याउन निशुल्क मिटर समेत वितरण गरिएको बताए ।

  • २५ श्रावण २०८१, शुक्रबार १६:५४ प्रकाशित