सर्पले डस्दा बर्दियामा एकै दिन दुई बालबालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

बर्दिया ।

बर्दियामा सर्पले डस्दा एकै दिन दुई बालबालिकाको ज्यान गएको छ ।

गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट ज्यान गएको र मधुवन नगरपालिकाकी छ वर्षीया रिया चौधरी घाइते भएको जनाइएको छ ।

घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासी बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पु¥याएकोमा चिकित्सकले सर्पको डसाइबाट ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रहरीका अनुसार बालकलाई सर्पले डसेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पु¥याएका थिए । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

सर्पको डसाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोल स्थित मामाघरमा बस्ने छ वर्षीया रिया चौधरी एक्कासी बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारका लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए । हाल उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

  • २५ श्रावण २०८१, शुक्रबार ०८:५५ प्रकाशित