काठमाडौं ।
रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तु नेपाल ल्याइएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले कतार एयरलाइन्समार्फत दोहा हुँदै नेपाल पठाइएको अस्तु बिहीबार परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल, महोत्तरीका अनितकुमार शाह र स्याङ्जाका गणेश श्रेष्ठको अस्तु नेपाल आइपुगेको हो ।
गत कात्तिक १८ मा मारिएका २६ वर्षीय देवनको पाँच महिनापछि परिवारको सहमतिमा मस्कोस्थित बालाशिखामा अन्त्येष्टि गरिएको थियो । उनको परिवारसँग अन्तिम पटक कात्तिक १७ मा सम्पर्क भएको थियो ।
स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको निधनको खबर परिवारले पुसको दोस्रो साता मात्रै पाएका थिए । समयमै शव नआउने भएपछि परिवारले त्यतिबेलै कुशको प्रतिमा बनाएर दाहसंस्कार गरेका थिए ।
रुसले डीएनए परीक्षणका लागि १५ जना परिवारको नमुना मागेको थियो । कन्सुलर विभागले तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारको डीएनए नमुना पठाइदिएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।














