पोखरा ।
पर्वतमा प्रचलित मृत्यु पछिको एक संस्कारलाई मूल कथा बनाएर बनेको चलचित्र ‘मोदीबेनी’ पोखराको मिडटाउनमा प्रर्दशन भइरहेको छ । मोदीबेनी चलचित्रको कथा पर्वत जिल्लामा रहेको एक मृत्युपछिको परम्परामा आधारित रहेको निर्देशक शंकर कोइरालाले बताए ।
मृत्युपछि शवलाई मोदीबेनी खोलामा लगेर ढुङ्गाले किचेर दाहसंस्कार गर्ने प्रचलनमा आधारित रहेको यो फिल्मलाई पोखरेली दर्शकले साथ दिइरहेका छन् ।
नयाँ विषयवस्तु रहेकाले पनि दर्शक पोखरेली दर्शक उत्सुकताको साथ हल पुग्ने गरेका छन् । हिजो (बुधबार) मिडटाउनमा मोदीबेनी चलचित्रका लागि हाउसफुल भएकोको थियो । दर्शकको प्रतिक्रिया बुझनका लागि हिजो चलचित्रका कलाकारसहित निर्माता टिम पोखरा आएको थियो ।
चलचित्र प्रर्दशन पछि पोखरामा भएको पत्रकार सम्मेलनमा चलचित्रबारे दर्शकले मिक्स प्रतिक्रिया दिएको र आफुहरुको प्रयासलाई पोखरेली दर्शकले कदर गरेको निर्देशक कोइरालाले बताए ।
कोइरालाका अनुसार दर्शकले चलचित्रको ’थ्रिलिङ पार्ट’लाई बढी रुचाएका छन्। दर्शक भेट्न कलाकारहरुसहित पोखरा आइपुगेका निर्देशक कोइरालाले ’मोदीबेनी’को ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताए।
‘चलचित्रको ’सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु। पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ। सोही कुरा दर्शकलाई चित्त बुझेको छ,’ कोइरालाले भने। उनले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए। ‘दर्शकको प्रतिक्रिया बुझ्दा ’वर्ड अफ माउथ’ले राम्रै काम गर्ने देखिन्छ।’
चलचित्रका नायक अमर प्रताप श्रेष्ठले आफ्नो डेब्यु फिल्म भएको बताउँदै पहिलो चलचित्रलाई पोखरेली दर्शकले माया दिएकोमा आभार प्रकट गरे । चलचित्रकी नायिका रेजिना उप्रेती लामो समयको ग्यापपछि आफ्नो कमब्याक मोदीबेनी जस्तो चलचित्रबाट भएको र यसमा आफ्नो क्यारेक्टर रहस्यमय रहेको बताइन् ।
चलचित्रमा हिरोका माइजुको रोलमा अभिनय गरेकी पोखरेली चेली तथा सञ्चारकर्मी रोजी श्रेष्ठले आफ्नै ठाउँमा आफ्नो चलचित्र चल्दा खुशी लागेको र आफ्नो अभिनयप्रति दर्शकले माया दर्शाएको भन्दै खुशी व्यक्त गरिन् ।
गत शुक्रबार साउन १८ गतेबाट प्रर्दशन भइरहेको चलचित्र ‘मोदीबेनी’जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो।
चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह–निर्माता हरि श्रेष्ठले बताए। उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए। जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए।
चलचित्रमा नायिका वर्षा शिवाकोटी र नायक अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहेको छ । चलचित्रमा कलाकार रेजिना उप्रती,सरोज खनाल, नव अभिनेत्री स्नेहा भट्टराई, कलाकारहरू प्रवीण खतिवडा, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, पोखराकी सञ्चारकर्मी रोजी श्रेष्ठ, पूजन श्रेष्ठलगायतको अभिनय रहेको छ ।
फिल्मको छायांकन उत्सव दाहाल, सम्पादक भरत रेग्मीको रहेको छ । निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ रहेका छन् ।