आठौं पोखरा स्पोर्टस् अवार्ड २०८० बाट १ लाख ८६ हजार बचत

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० बाट १ लाख ८६ हजार २ सय ७७ रुपैयाँ बचत भएको छ । गत वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख ८६ हजार २ सय ७७ रुपैया बचत भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कोषाध्यक्ष तथा आठौं पोखरा स्पोर्टस् अवार्ड आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तीमगरले जानकारी दिइन ।

बुधबार पोखरामा आयोजित आठौं पोखरा स्पोर्टस् अवार्ड २०८० आय व्याय सार्वजनिक कार्यक्रम मार्फत कोषाध्यक्ष घर्ती मगरले आठौं संस्करको पोखरा स्पोर्टस् अवार्डमा विभिन्न श्रोत मार्फत १८ लाख ५० हजार ५ सय ३६ रुपैया आम्दानी भएको र जसमध्ये १६ लाख ६४ हजार २ सय ५९ रुपैयाँ खर्च भइ १ लाख ६४ हजार २ सय ५९ रुपैयाँ बचत भएको वताइन ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड क्रिकेटका अर्जुन कुमाल र आईटिएफ तेक्वान्दो खेलाडी सुस्मिता थापाले जितेकी थिइन । त्यस्तै वर्ष उदीयमान खेलाडीको अवार्ड ब्याडमिन्टनकी दिलशा राना, उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिवलका रमेश केसी , वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट रोहितराज पराजुली र खेलकुद संघसंस्था वा क्लबको तर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको थियो । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक् प्रशिक्षक ईन्द्रा मल्ललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकार महसंघका पूर्व केन्द्रीय सदस्य एवं खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका उपाध्यक्ष माधव रेग्मी, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी लगायतले शुभकामना दिएका थिए ।

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव राजाराम पौडेलल गरेका थिए ।

  • २३ श्रावण २०८१, बुधबार ११:४५ प्रकाशित