काठमाडौं ।
काभा वुमन्स नेसन्स लिगमा नेपाल इरानलाई ३–० को साझ सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । दशरथ रंगशाला स्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यससंगैं नेपालले भारतसंगको उपाधी भिडन्त पक्का गरेको छ ।
लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ । पहिलो सेटको सुरुमा ५–१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६–५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६–१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०–२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५–२१ ले पहिलो सेट जित्यो ।
दोस्रो सेटको सुरुवातमा २–० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६–४, १०–५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०–२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४–२१ को अवस्थासम्म पुग्यो ।
त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४–२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले अंक खोसेर लगातार २ अंक जोड्दै २८–२६ ले दोस्रो सेट जित्यो ।
तेस्रो सेटमा इरानले १०–७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५–१५ बनायो । त्यसपछि अग्रता लिँदै २३–१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५–२० ले जित्यो ।
यता मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । भारतसंग नेपालको फाइनल खेल बुधबार नै हुनेछ । बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।