गण्डकी विश्वविद्यालयले डीन नियुक्तिका लागी गरेको विज्ञापनविरुद्ध उच्च अदालतमा रिट

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी विश्वविद्यालयले डीन नियुक्तिका लागि आह्वान गरेको विज्ञापनविरुद्ध उच्च अदालत पोखरामा रिट दायर भएको छ । अधिवक्ता मनोज घर्ती मगर र विश्वविद्यालयका पूर्व उपप्राध्यापक विमलप्रसाद लामिछानेले विश्वविद्यालयको न्यासिक परिषद्, कार्यकारी परिषद्, डीन नियुक्तिका लागि गठित समिति, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएर रिट दिएका हुन् ।

विश्वविद्यालयले गठन गरेको डीन नियुक्ति सिफारिस समितिले कानुन तथा व्यवस्थापन संकायको नियुक्तिका लागि साउन १० गते सूचना प्रकाशन गरेको थियो । उक्त विज्ञापनमै त्रुटि भएकोले प्रक्रिया अघि नबढाउन रिटमा माग गरिएको छ । ‘यो विज्ञापन सर्वोच्चमा परेको रिटबाट जोगिन, गाल टार्न, आफ्ना निकटकालाई परिचालन गर्न र देखावटी दाँतको रूपमा मात्रै गरिएको हो,’ रिटमा भनिएको छ । कानुन तथा व्यवस्थापन दुई संकायको एउटै डीन राख्दा ऐन विपरीत हुने र कसलाई डीन बनाउने उल्लेख छैन ।

‘कानुनको जनशक्ति डीन भएमा व्यवस्थापनमा मेल खाँदैन । व्यवस्थापनको डीन भए कानुन विषयमा मेल खाँदैन । जसले सम्बन्धित विषयको विशिष्टता र गम्भीरता अनुरूप कार्यक्रम सञ्चालन हुने सुनिश्चितता हुँदैन,’ रिटमा भनिएको छ । गण्डकी विश्वविद्यालयमा स्थापनादेखि स्नातक तहका मात्रै ५ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । आइटी, स्पोर्टस् म्यानेजमेण्ट, फार्मेसी, आर्टस र कानुनमा पढाइ हुन्छ ।

यस्तै, निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म सबै काम कारबाही र प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

  • २० श्रावण २०८१, आईतवार १६:५३ प्रकाशित