जिल्ला समन्वय समिति कास्कीले सातौं स्थापना दिवस

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले उद्घाटन गरेका थिए। मन्त्री भट्टराईले जिल्ला समन्वय समितिका काम थप प्रभावकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशील रहने भन्दै नीतिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरे ।

विकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आवश्यक भएको भन्दै आवश्यक ऎन ,कानुन , नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरे । उनले शिक्षा क्षेत्रका दसकौ देखिका विकृति समाधान गर्ने गरि आफ्नो तर्फबाट नीतिगत व्यवस्था बनाउदै शिक्षालाइ राज्यको दायित्व हो भनेर कार्यान्वयन गर्ने वातावरण सिर्जनामा लाग्ने उल्लेख गरे ।

प्रस्तावित शिक्षा ऎनलाई परिमार्जन सहित जारी गर्ने संकेत गर्दै मन्त्री भट्टराईले ऎनको प्रभावकारी कार्यान्वयन मार्फत समस्या समाधानमा केन्द्रित हुने उल्लेख्य गरे । शिक्षामा हाम्रो होइन राम्रो मान्छेले नेतृत्व गर्ने परिपाटी बसाल्ने भन्दै मन्त्री भट्टराईले हाम्रा विश्वविद्यालय र शिक्षा सक्षम र सबल छ्न भन्ने सन्देश निर्माणमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।

जिसस कास्की प्रमुख लिलाधार पौडेलले संवैधानिक व्यवस्था अनुसार थप मजबुत कार्य सम्पादनमा कानुन अभाव महत्त्वपूर्ण अप्ठ्यारो भएको उल्लेख्य गर्दै यस बारेमा संघ र प्रदेश सरकारको पटकपटक ध्यानाकर्षण गराएको उल्लेख गरे। संविधानमा विद्यमान व्यवस्थाबाट उत्कृष्ट कार्य सम्पादनमा आफुहरू प्रयत्नशील रहेको उनको भनाइ थियो।

कार्यक्रममा संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै अधिबक्ता गिरिधारी सुवेदीले संघ सरकार र प्रदेशले संविधान बमोजिम बनाउनु पर्ने कानुन नबनाउदा जिससको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।

जिसस कास्कीले सो अवसरमा जिल्लाका उत्कृष्ट कर्मचारी तथा एसइइ परिक्षामा उत्कृष्ट हुने विद्यार्थी,विद्यालयहरूलाइ नगद र कदरपत्रले सम्मान समेत गरेको छ।

सम्मानित हुने कर्मचारीहरूमा अन्नपूर्ण गाउँपालिकाका कार्यालय सहयोगी ओम प्रसाद अधिकारी ,रूपा गाउँपालिकाका लेखापाल लेखनाथ अधिकारी ,मादीका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल ,पोखरा महानगरका शाखा अधिकृत खुमलाल लामिछने,माछापुच्छ्रेका कार्यालय सहयोगी इश्वरी रानाभाट ,विद्यार्थीतर्फ अन्नपूर्णका प्रविण कुवँर ,माछापुच्छ्रेका पर्वत दाहाल र सौगात रेग्मी ,मादिका रेजिना बिश्वकर्मा ,रूपाका आभार पौडेल पोखराका अनन्या गौतम र निलिमा रेग्मी ,बिद्यालयतर्फ अन्नपूर्ण गाउँपालिकाबाट सृजना मा बि ,माछापुच्छ्रेबाट माछापुच्छ्रे मा बि,मादिबाट ध्रुब मा बि, रूपाबाट बिश्वशान्ती मा बि पोखराबाट बिन्ध्यबासिनी मा बि सम्मानित भएका छन।

  • २० श्रावण २०८१, आईतवार १६:४१ प्रकाशित