शिक्षामन्त्री भट्टराईको उद्घोष: ‘चुक्नुपर्ने परिस्थिति आए पद त्याग्छु’

केन्द्रभाग मिडिया

पोखरा ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रीको हैसियतले कामगर्दा चुक्न परे पद नै छाडिदिने बताएकी छन् । आइतबार विहान गृह जिल्ला कास्कीमा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । आफूलाई काम गर्नकै लागि सरकारमा लगिएको भन्दै उनले काम गर्ने क्रममा कतै चुक्नुपर्ने परिस्थिति आयोभने चुक्नुभन्दा पहिले पद त्याग गर्ने बताएकी हुन् ।

मन्त्री भट्टराईले अफूले नीति, नियम र असल नियतले मुलुक र समग्र शिक्षा क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिवद्धता जनाइन् । ‘मैले नीति र नियम अनुरुप शिक्षा सुधारका निम्ति असल नियतका साथ काम गर्ने हो ।’ उनले भने, ‘कतै चुक्नुपर्ने परिस्थिति आएछ भने चुक्नु पहिले नै पद छाडनेछु । तर, कतै चुक्ने छैन ।’

देशमा केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्ने र त्यसका लागि आफूले काम गर्ने उनको भनाई छ । अहिले अभिभावक र केही जान्ने बुझ्नेले समेत नेपालमा केही हुँदैन । अध्ययन गर्न वा रोजागारी गर्नसमेत बाहिरै जानुपर्छ भनेर देशमा केही हुन्नँ, सकिँदैन भन्ने भाष्य निर्माण गरिएमा दुःख व्यक्त गर्दै उनले यसलाई बदल्नेगरी काम गर्नुपर्ने दायित्व आफू र वर्तमान सरकारमा रहेको उनले सुनाइन् ।

देशमा राम्रा राम्रा समुदायिक विद्यालय पनि रहेको चर्चा गर्र्दै उनले त्यसका सहि प्रचार गर्न नसकिएको धारणा राखिन् । समुदायीक विद्यालयको गुणस्तर सुधारको योजना ल्याइने र निजी विद्यालयलाई पनि नियमन गरिने बताइन् । छिनछिनमा परीक्षा प्रणाली बदलिँदा एसईई दिएका विद्यार्थी मर्कामा परेको स्विकार गर्दै यससम्बन्धि गहिरिएर अध्ययन गरेर स्थिरढंगले परीक्षा मोडेल तय गर्नुपर्नेमा आफूले जोड दिने उनको भनाई छ ।

अघिल्लो शिक्षामन्त्रीले थालेका राम्रा कामलाई आफूले निरन्तरता दिने बताएकी उनले लोकप्रियतावादी विचारलेमात्र समाजलाई सही ठाउँमा नपुर्याउने तर्फ सचेत गराइन् । ‘मैले अघिल्ला मन्त्री ज्युहरुले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु । निस्कर्षमै पुर्याउँछु । तर लोकप्रियतावादी विचारले मात्र समाजलाई सही ठाउँमा पुर्याँदैन भन्नेमा म प्रष्ट छु’ उनले भनिन् ।

  • २० श्रावण २०८१, आईतवार ११:५८ प्रकाशित