गण्डकी सरकारमा एमाले कहिले सहभागी हुने भन्ने अझै अनिस्चित !

केन्द्रभाग मिडिया

पोखरा ।

केन्द्रीय गठबन्धन परिवर्तन भएर कांग्रेस र एमालेले सत्ता सहयात्रा गरेको एक महिना बित्दा समेत गण्डकी प्रदेश सरकारमा एमालेले अझै सहागागिता जनाएको छैन । एमाले सरकारमा सहभागी नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेता समेत रहेका स्थायी समिति सदस्य खगराज अधिकारीले सरकारमा सहभागिताको विषयमा संवादहरु भएपनि सहभागी कहिले हुने भन्ने अझै अनिस्चित रहेको बताएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मन्त्रालयको संख्या बढाउने पक्षमा रहेको र आफूहरु बढाउन नहुने पक्षमा रहेकाले पनि सरकारमा एमालेको सहभागिताको विषय अझै टुंगो नलागेको उनले प्रष्टिकरण छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन कार्यक्रममा बोल्दै अधिकारीले मन्त्रालयको संख्यालगायतका विषयमा कूरा मिल्न बाँकी रहेको जानकारी दिएका हुन्।

एमालेले मन्त्रालयको संख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको संख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उनको सङ्केत थियो । अर्को प्रसंगमा अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उनको भनाई थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उनको भनाई थियो ।

एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पूरा गर्नको सबैले मिहेनत गर्नुपर्ने उनले बताए । ‘सरकारले राम्रो काम गर्नुपर्‍यो, भष्ट्राचार रोक्नुपर्‍यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन’ उनले भने। दुई प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रादेशिक संवृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चा समेत गरिएको थियो । यसको प्रस्तुती गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी परिषदका अध्यक्ष एवं वागमती प्रदेशका सासंद डा.दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको सङ्ख्या बढेको बताए । देशको विकासमा विभिन्न चुनौतीहरु रहेकोले ती चुनौतीलाई चिर्दे अगाडि बढ्न सक्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद गण्डकीका अध्यक्ष प्राडा.चन्द्रबहादुर, उपाध्यक्ष भोजराज दाहाल, सचिव बाबुराम केसी, राधाकृष्ण लामिछाने, एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी र एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले लगायतले बोलेका थिए ।

  • १९ श्रावण २०८१, शनिबार १९:१२ प्रकाशित