काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको स्थिति नहेरी गरिने फैसला कार्यान्वयन गर्न नसकिने बताएका छन । सिंहदरबारमा शुक्रबार साँझ नेपाल बार एसोसिएसनका प्रतिमण्डलसँग भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक क्षमतालगायतको अवस्था हेरेर न्यायालयले फैसला गर्नु पर्ने बताएका हुन ।
अर्थतन्त्रको स्थिति तनखा बढाउन सक्ने खालको छैन भने यतियति तलब बढाऊ भनेर तिथिमिति तोकेर फैसला आएमा कार्यान्वयन गर्न व्यवहारिकरुपमा समस्या हुने टिप्पणी गरे । उनले न्यायालयको पुनर्संरचना र सुधार गर्दा सम्बन्धित सबैको आनीबानी र व्यवहारमा पनि पुनर्संरचना गर्नुपर्ने बताए ।
अर्को प्रशंगमा उनले सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह समेत गरे । जनताको आवश्यकता अनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वस्त रहन उनको आग्रह रहेको थियो ।












