मनिला ।
फिलिपिन्सको राजधानी मनिलामा एक पाँच तले आवासीय भवनमा आगलागी हुँदा ११ जनाको ज्यान गएको छ । यो घटना शुक्रबार बिहानको भएको बताइएको छ । आगो कसरी लाग्यो भन्ने थाहा हुन सकेको छैन ।
यो घटना राजधानीको बिनोन्डो जिल्लामा घटेको हो । मर्नेमा भवन मालिककी पत्नी समेत परेको बताइएको छ । सो भवनमा अरू पनि फसेका छन् कि भन्ने पनि स्पष्ट भइसकेको छैन ।
फिलिपिन्समा भवन, घर वा कार्यालयमा अग्नि सुरक्षा कार्यान्वयन फितलो छ । बेलाबेलामा हुने यस्ता घटनामा कयौँले ज्यान गुमाइरहेका छन् । गएको वर्ष अगस्टमा आवासीय र गोदाम भवनमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो ।
मेमा पनि राजधानी स्थित केन्द्रीय हुलाक कार्यालयको भवनमा ठुलो आगलागी भएको थियो । सन् २०१७ मा दक्षिणी दाभाओ सहरमा सपिङ मलमा आगलागी हुँदा ३७ जनाको ज्यान गएको थियो ।