अपडेट

गोरखाको धार्चेमा पहिरोमा बेपत्ता चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेमा लेदोसहितको पहिरोले घर बगाउँदा बेपत्ता भएका चार जनाको शव भेटिएको छ ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा ४ जनाको शव भेटिएको हो भने एक जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसार घटनास्थलमा तीन जनाको र फिस्लिङमा एक जनाको शव भेटिएको हो ।

‘जितबहादुर गुरूङ, उनका बुवा सुलाल कान्छा गुरूङ र स्थानीय रमेश गुरूङको शव पहिरोले पुरेको अवस्थामा फेला परेको बताइएको छ ।
तीन जनाको शव सोमबार दिउँसो र एक जना महिलाको शव आइतबार नै फेला परेको थियो।

पहिरोमा जितबहादुरका परिवारका तीन जना परेका थिए। जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङ पनि पहिरोमा परेर बेपत्ता थिइन्।

प्रहरीका अनुसार गोरखाकै गण्डकी गाउँपालिकास्थित फिस्लिङमा एक जना महिलाको शव फेला परेको थियो। उक्त शव प्रहरीले कान्छीमायाको भएको पहिचान गरेकोले घटनास्थलमा ल्याउने तयारी भएको छ।

यो पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना र स्थानीय एक र आरूघाट गाउँपालिकाका एक जना बेपत्ता थिए। तीमध्ये आरूघाटका रमेश परियारको खोजी कार्य जारी रहेको छ ।

पहिरोमा परेकाहरू सबै स्थानीय वाटर इनर्जी हाइड्रोमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।

पहिरोले एक घर र कृषि फर्ममा क्षति पुर्‍याएको थियो।पहिरोमा परेर घाइते भएका दिलीप गुरूङ र छामबहादुर गुरूङलाई कैलाश एयरको हेलिकप्टरबाट आइतबार उद्धार गरेर काठमाडौं लगिएको छ ।

  • १४ श्रावण २०८१, सोमबार १५:३० प्रकाशित