कल्याणी बालआश्रमलाई इनरह्वील क्लव अफ पोखरा मिडटाउनको सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा १६ लामाचौरमा रहेको कल्याणी बालआश्रममा रहेका आश्रित बालबालिकालाई इनरह्वील क्लव अफ पोखरा मिडटाउनले सहयोग गरेको छ । शनिबार एक कार्यक्रमका बीच आश्रित बालबालिकाका लागि नगद सहयोग गरेको क्लवका सचिव भावना रानाभाटले जानकारी दिइन् ।

उनका अनुसार क्लवको तर्फबाट बालआश्रममा रहेका बालबालिकाका लागि नगद २० हजार रुपैयाँ प्रदान गरिएको हो । क्लवको तर्फबाट इनरह्वील क्लव पोखरा मिडटाउनका अध्यक्ष जुनादेवी थापाले कल्याणी बाल आश्रमका उपाध्यक्ष गोमा भण्डारीलाई नगद हस्तान्तर गरेकी हुन् ।

सो अबसरमा कल्याणी बालआश्रमका व्यवस्थापक भगवती खत्रीले बालआश्रमको बारेमा जानकारी दिएकी थिइन् । इनरह्वील क्लव अफ पोखरा मिडटाउनको बारेमा बोल्दै पूर्व अध्यक्ष पार्वती पाण्डेले क्लवले विगतका दिनहरुमा पनि यस्ताखालका सहयोग लगायतका लोक कल्याणकारी कार्य गर्दै आएको जानकारी दिइन् ।

जम्मा १५ जना बालबालिका संरक्षित बाल आश्रममा सहयोग हस्तान्तरण कार्यक्रम इनरह्वील क्लव आफ पोखरा मिडटाउनका अध्यक्ष जुनादेवी थापाको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव भावना रानाभाटले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

 

  • १३ श्रावण २०८१, आईतवार १९:२९ प्रकाशित