सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनबाट नागरिकको अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएका वताउदै नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको नाममा नागरिकको अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं ।’
समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ ।’

आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताए ।पूर्वप्रधानमन्त्री प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे ।

  • १२ श्रावण २०८१, शनिबार १७:०० प्रकाशित