रगत अभावलाई परिपुर्ती गर्न रेडक्रसको भुमिका प्रसंशनिय

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रगत अभावलाई परिपुर्ति गर्न नेपाल रेडक्रस सोसाइटी कास्कीको भूमिका प्रशसनिय रहेको बताए । शनिबार ५९ औं रक्तसञ्चार दिवसको सन्दर्भमा रेडक्रस कास्कीको सभाहलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्यको क्षेत्रमा रेडक्रसले पुर्याएको योगदानको प्रसंशा गरेका हुन् ।

“विपदका बेला होस या रगत अभावको समयमा होस रेडक्रस कास्कीले फ्रन्टलाइनमा उभिएर काम गरेको छ । जसको म प्रशंसा गर्दछु।”, उनले भने । आज नै रेडक्रस कास्कीले आफ्नै भवनमा शुभारम्भ गरेको अत्याधुनिक प्रविधि सहितको रक्तसंचार केन्द्रबाट आम नागरिकले सहज रुपमा रगत प्राप्त गर्ने विश्वास उनको छ । रगतको अभावमा उपचार नपाएर बिरामी मर्नुपर्ने अवस्था नआउने उनले बताए ।

कार्यवाहक मुख्यमन्त्री समेत रहेका थापाका अनुसार प्रदेश सरकारले पनि निशुल्क रगत प्रवाह गर्न लगानी गरिरहेको जानकारी गराए । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा नागरिकलाई उपचारका लागि निशुल्क रगत उपलब्ध गराउन ४ करोड ५० लाख विनियोजन गरिएको उनले उल्लेख गरे ।

रक्तसंचार केन्द्रलाई थप प्रभावकारी बनाउन कम्पोनेन्ट मेसिन खरिदका लागि ६५ लाख विनियोजन गरिएको जानकारी उनले गराए । प्रदेशमा एम्बुलेन्स सेवालाई समेत चुस्तद्रुस्त बनाउन रेडक्रससङ्ग सहकार्य गरिने उनले बताए । प्राकृतिक विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणमा समेत सहकार्य गर्दै प्रदेश सरकार अगाडि बढिरहेको भनाई उनको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले रेडक्रस कास्की समयानुसार अप्डेट हुँदै आएको बताए । विपद व्यवस्थापन र एम्बुलेन्स सेवा प्रवाहमा गुनासो नआउने गरि रेडक्रसले काम गरिरहेको भनाइ उनको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवम वडा २५ का अध्यक्ष मोती तिमिल्सिनाले रेडक्रससङ्ग सहकार्य गरेर अगाडि बढ्न स्थानीय तह तयार रहेको बताए । रेडक्रस कास्कीको स्तरोन्नतिका लागि महानगरबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी समेत उनले गराए ।

कार्यक्रममा पुर्व सभापति डोलराज पाण्डे, पश्चिमांचल क्षेत्रीय अस्पतालका प्रमुख डा.भरत बहादुर खत्री लगायतले बोलेका थिए ।

  • १२ श्रावण २०८१, शनिबार ११:५४ प्रकाशित