रेबान पोखराको ३० औं साधारणसभा

फेवातालमा सर्वोच्चको आदेश कार्यान्वयनको विकल्प छैन : प्रमुख आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालको सन्दर्भमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनका विकल्प नरहेको बताएका छन् । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराको ३० औं वार्षिक साधारणसभा एवं १६ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

फेवासहित सबैताल तलैयाको संरक्षण गर्न सबैको साथ र सहयोग चाहिने पनि बताए । ‘महानगर वा सरकारले मात्रै संरक्षण गरेर हुँदैन । स्थानीयले नै अपनत्व लिनुपर्छ’ उनले भने । प्रमुख आचार्यले फेवातालको जल सतहको अन्तिम विन्दु टुंगिएको जानकारी दिँदै अब बाँकी कामले पनि छिट्टै गति लिने धारणा राखे । अधिकांशले फेवातालको मापदण्ड कार्यान्वयनमा सर्वोच्चको आदेश पालना कहिले हुन्छ भनेर सोध्ने गरिएको भन्दै उनले अब छिट्टै रिजल्ट दिनेगरी काम हुने बताए । तर, मुआब्जा लगायतमा खर्चिनुपर्ने रकम धेरै रहेकाले जटिल भने रहेको उनले सुनाए ।

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नु पर्यटकीय गतिविधि र यसको विकाशको महत्वपूर्ण प्रारम्भ भएको धारणा राखे । उनले पोखराको बृहत्तर विकासका आधार तयार पार्ने काम भइरहेको जानकारी दिए । परिणाम देखिन भने केही समय लाग्ने बताए ।

उनले छाडा चौपाया, बालबालिका प्रयोग गरेर हुने गरेको मगन्ते पेशा र सामुदायिक कुकुर सडक चुनौती रहेको बताए । प्रशासनको सहयोगमा यी तीनवटै चुनौतीबाट मुक्त हुनेगरी अगाडि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटकीय स्थलको रात्रीकालिन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने चुनौती रहेको बताए । उनले ग्राहकको सन्तुष्टि र गुणस्तरमा ध्यानदिन आग्रह गरे । पर्यटन क्षेत्रले सधैं सकारात्मक सन्देश दिनुपर्ने धारणा राखे । फेवातालको स्वच्छता, सम्पदाको संरक्षण र यसको दीगोपनमा सबैले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले अर्थतन्त्र चलायमा नभए व्यवसाय राम्रोसंग चल्न नसक्ने धारणा राखे । उनले रेबान पोखराले गरेको सडक महोत्सव देशकै उत्कृष्ट ब्रान्ड बनेको बताए ।

पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले पोखरा गुणस्तरीय पर्यटकको हव बनाउनु पर्नेमा जोड दिए । पर्यटकीय गन्तव्यको साख जोगाउनु महत्त्वपूर्ण रहेको तर्फ उनले व्यवसायीलाई सचेत गराए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रबर्द्धनमा रेवानले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले पोखरा महानगरले सन २०२५ लाई   भिजिट पोखरा वर्षको घोषणा गरेको प्रति आभार प्रकट गरे । पोखरा, विराटनगर र भद्रपुर उडान आउने हिउँदमा हुने तयारी रहेको जानकारी दिए ।

पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गोपि भट्टराईले पोखरा पर्यटकीय राजधानी घोषणा भएपछि त्यस अनुरूप पूर्वाधार बन्ने अपेक्षा प्रकट गरे । उनले पोखरासंग  पहुँचमार्ग सहज नहुनु दुखद् रहेको उल्लेख गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिसदकन पूर्वअध्यक्ष अशोक पालिखे, अध्यक्ष नरेश भट्टराई, पत्रकार महसंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेल र महसचिव विकास भट्टराई लगायतले बोलेका थिए ।

रेबानको अध्यक्षमा विश्वराज पौडेल

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं वार्षिक साधारणसभा एवं १६ औं अधिवेशनले उनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको निवर्तमान अध्यक्षमा नरेश भट्टराई, प्रथम उपाध्यक्ष वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन, सचिव भीष्मराज पौडेल, कोषाध्यक्ष रोशनजंग कार्की र सहकोषाध्यक्ष वैभव पौडेल चयन भए ।

कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु बानियाँ, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई छन् । समितिको कार्यकाल २ वर्षको हुनेछ ।

 

  • १२ श्रावण २०८१, शनिबार ०७:०२ प्रकाशित