आन्दोलनरत गण्डकीका यातायात व्यवसायीलाई ६ वटा प्रदेशका यातायात व्यवसायी र मजदुर संगठनको साथ

केन्द्रभाग मिडिया

पोखरा ।
रातो प्लेटका सवारीलाई सार्वजनिक सवारी साधन सरह यात्रु ओसारपोसार गर्न दिन लागेको भन्दै आन्दोलनरत गण्डकी प्रदेशका यातायात ब्यवसायीलाई ६ प्रदेशका यातायात ब्यवसायीहरुले साथ दिने भएका छन ।

गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था ऐन को बर्खिलाप हुने गरी कानुन बनाइ रातो प्लेटका सवारी साधनलाई सार्वजनिक सवारी साधन सरह यात्रु ओसारपोसार गर्न दिने निती बनाइ कार्यान्वयनमा ल्याउन लागेको कार्यको खारेजीको माग गर्दै आन्दोलनमा होमिएको गण्डकी प्रदेशका यातायात ब्यवशायीलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ऐक्यवद्धता जनाउदै ६ वटै प्रदेशका यातायात व्यवसायीहरुलाई समेत आन्दोलनमा ऐक्यवद्धता जनाउन आग्रह गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक महासचिव पुरुषोत्तम सिंखडाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ६ वटै प्रदेश र उक्त प्रदेशमा रहेका तीनवटै मजदुर संगठनलाई गण्डकी प्रदेशको यातायात ब्यवसायीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन आग्रह गरेका हुन ।विज्ञप्तीमा भनिएको छ ।

गण्डकी प्रदेश भित्र रहेका यस महासंघका सदस्य संघ, समिती, कम्पनी, प्रा.लि. लगायतका अन्य संघ संस्थाहरुले गण्डकी प्रदेश भित्र विगत लामो समयदेखी बस, मिनीबस, माइक्रोबस, ट्याक्सी, जीप लगायतका भाडाका सवारी साधनहरुले आम यात्रु वर्गको माग बमोजिम नियमित र व्यवस्थित रुपले सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रदेश सरकारलाई अग्रीम रुपमा राजश्व समेत बुझाउदै आइरहेको अवस्थामा सो पेशा एवं व्यवसायलाई विस्थापित गराउने उद्देश्यले गण्डकी प्रदेश सरकारले काुनुन विपरित सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ को बर्खिलाप हुने गरी कानुन बनाई २ पाङ्ग्रे र ४ पाङ्ग्रे ( रातो) प्लेटका सवारीका साधनहरुलाई सार्वजनिक सवारीका साधन सरह यात्रु ओसारपोसार गर्न दिने निती बनाई कार्यान्वयनमा ल्याउन लागेको कार्यको खारेजीको माग राखी महासंघको गण्डकी प्रदेश समिति र सम्बन्धित विभिन्न संघm संगठनले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई असार १० गते पेश गरेको ७ बुँदे ज्ञापन पत्रलाई पूर्ण रुपले समर्थन गर्दै महासंघको गण्डकी प्रदेश समितिले तय गरेको विरोधको कार्यक्रम प्रति महासंघका ६ वटै मजदुर संघ, संगठनहरु संग समेत समन्वय गरि संयुक्त ऐक्यबद्धता जनाउनका लागि अनुरोध गरिन्छ ।

त्यसैगरी  आन्दोलनमा यातायात क्षेत्रका तीनवटै मजदुर संगठनहरुले समेत ऐक्यवद्धता जनाएका छन । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले संयुक्त विज्ञप्ती निकाली गण्डकी प्रदेश सरकारले सार्वजनियक यातायात व्यवसायीको हित विपरित काम गरेको भन्दै यातायात ब्यवसायीले राखेको ७ बुँदे माग सम्बोधन गर्न आग्रह गर्दै माग सम्बोधन नभए थप सशक्त कार्यक्रमहरु अगाडी वढाइने जनाइएको छ ।

  • ११ श्रावण २०८१, शुक्रबार १८:२२ प्रकाशित