काठमाडौँ ।
सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ ।
बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
नेकपा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले आजको मन्त्रिपरिषद् बैठकले चीन र भारत दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको बताए ।
भारतमा हाल शंकर शर्मा र चीनमा विष्णुपुकार श्रेष्ठ राजदूत रहेका छन् ।पछिल्लो सहमतिअनुसार सत्तारुढ दल कांग्रेसको भागमा भारतको राजदूत परेकाले शर्मालाई नै निरन्तरता दिनसक्ने बुझिएको छ ।
चीनमा भने माओवादी कोटाबाट राजदूत बनेका श्रेष्ठलाई फिर्ता बोलाएर एमालेबाट सिफारिस गर्ने तयारी रहेको बुझिएको छ । चीनमा एमालेले कसलाई राजदूत सिफारिस गर्दैछ भन्ने खुलेको छैन ।