गण्डकीका यातायात व्यवसायीले गरे आन्दोलनको घोषणा

रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न दिने कार्ययोजना खारेजको माग, माग पूरा नभए विद्यार्थी लगायतलाई छुट नदिने चेतावनी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधनलाई पनि सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिन लागेको भन्दै त्यस विरुद्ध आन्दोलन घोषणा गरेको छ ।

महासंघले बिहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले रातो प्लेट ४ पांग्रे र २ पांग्रे सवारीसाधनलाई सार्वजनिक सवारी सरह भाडामा यात्रु बोक्न दिने भए सवारी साधनको वर्गीकरण नगरी एउटै खालको नम्बर प्लेट राखे हुने बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले प्रदेश सरकार व्यवसायीसंग सहकार्य नगरी एकलौटीढंगले अगाडि बढेको भन्दै आपत्ति जनाए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफूहरूलाई अब राज्यले दिने भनिएको छुट नचाहिने र अब आफूहरूले पनि बिद्यार्थीलगायतलाई दिएको छुट दिन नसक्ने बताए । यातायात व्यवसायीले निजी सवारीलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न दिने गण्डकी प्रदेश सरकारको कार्ययोजना तत्काल खारेज गर्न माग गरिएको छ ।

यस्तै श्रम आयोग गठन, सडक सुरक्षा योजना लागू गर्न, यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न र भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशिल गर्न उनीहरुको माग छ ।

आफ्ना मागहरु तत्काल सम्बोधन नभए यही साउन १३ गतेदेखि सवारी साधन घर र ग्यारेजमा राखी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।

प्रदेश सरकारले यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघसँग कुनै परामर्श नगरी ऐनमा व्यवस्था नै नभएको निजी सवारीलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना ल्याउन लाग्नु आपत्ति जनक रहेको उनीहरुले बताएका छन् ।

  • १० श्रावण २०८१, बिहीबार १४:१२ प्रकाशित