गोरखाको बोर्लाङमा भीमसेन थापा स्मृती पार्क बन्दैं

केन्द्रभाग मिडिया

पोखरा ।

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको स्मृतिमा पार्क निर्माणको कार्य सुरु भएको छ ।

भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित चण्डीस्थानमा थापाको स्मृति पार्क बन्न लागेको हो । पार्क निर्माणका लागि विगत तीन बर्षदेखि पालिकाले रकम विनियोजन गर्दै आएको जनाएको छ । हालसम्म ५० लाख रकम विनियोजन भइसकेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए ।

उक्त रकमबाट सो क्षेत्रमा भीमसेन थापाको पूर्ण कदको शालिक, प्रवेशद्धार र सिढी बाटो निर्माण गरिएको छ । मिनि संग्रहालयको रुपमा भिमसेन थापा स्मारक संग्रहालय पनि निर्माण भएको छ । करिव नौ रोपनी क्षेत्रफलमा घेरावार लगाउने काम समेत भएको पालिकाले जनाएको छ ।

पार्क निर्माणमा भीमसेन थापा बोर्लाङ प्रतिष्ठानले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । भीमसेन थापाको नाममा रहेको जग्गा फिर्ता ल्याउने काम प्रतिष्ठानले गरेको छ । साढे दुई रोपनी जग्गा दानमा प्राप्त भएको र बाँकी खरिद गरिएको प्रतिष्ठानका अध्यक्ष राजु थापाले जानकारी दिए ।

संग्रहालयमा भीमसेन थापाले प्रयोग गरेका पोशाक, हातहतियार लगायतका सामग्रीहरु राखिएका छन् । २०८० साल साउन ९ गते उद्घाटन गरिएको उक्त संग्रहालय अवलोकन हालसम्म निशुल्क थियो । अव भने शुल्क तिर्नुपर्ने प्रतिष्ठानका अध्यक्ष थापाले बताए । उनका अनुसार बिद्यार्थीका लागि १० र अन्यका लागि २० रुपैया प्रवेश शुल्क निर्धारण गरिएको छ ।

भीमसेन थापा स्मृती पार्कको डिपिआर समेत तयार भइसकेको गाउँपालिका अध्यक्ष बञ्जराले बताए । डिपिआर अनुसार योजना सम्पन्न गर्न करिव ६ करोड बजेट आवश्यक पर्ने बताउँदै उनले पालिकाको बजेटबाट मात्र त्यो सम्भव नहुने बताए ।

संघ र प्रदेश सरकारसँग समन्वय गरेपनि आवश्यक सहयोग नपाएको उनको गुनासो छ ।

  • १० श्रावण २०८१, बिहीबार १०:२६ प्रकाशित