सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएकाको पोष्टमार्टम जारी : भोलीसम्म आफन्तले पाउनेछन् शव

केन्द्रभाग मिडिया

सौर्य एयरलायन्सको विमान दुर्घटना

काठमाडौं ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शवको पोष्टमार्टम जारी छ । सबैको पोष्टमार्टम गरीसकेर परिवार र आफन्तलाई शव जिम्मा लगाइने पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा बुधबारदेखि नै पोष्टमार्टम जारी छ । तर त्यहाँको जनशक्तिले मात्रै नभ्याउने भएकाले पाटन स्वास्थ्य विज्ञान र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीका अनुसार एउटा शव पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्छ । त्यसैले सबै १८ वटा शव पोष्टमार्टम गरिसकेर आफन्तलाई भोलि शुक्रबारसम्म बुझाउन सकिने उनले बताए । त्यतिन्जेल शवलाई फ्रिजमा सुरक्षित राखिने उनले बताए ।

शव जलेकाले हेरेकै भरमा चिन्न गाह्रो हुन्छ । त्यसैले अत्यधिक जलेका शवको हकमा डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्ने डा.चौधरीले बताए ।

बुधबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज ११ बजेर ११ मिनेटमा दुर्घटना भएको थियो । जहाजमा सवार १९ जनामध्ये क्याप्टेन मनिषरत्न शाक्य मात्र जीवित छन् । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार जारी छ ।

  • १० श्रावण २०८१, बिहीबार ०८:५७ प्रकाशित