इथियोपियामा पहिरोमा परेका २२९ जनाको शव निकालियो

केन्द्रभाग मिडिया

गोफा ।

इथियोपियाको गोफाको पहाडी क्षेत्रमा मुसलधारे वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेका थिए ।

दक्षिणी इथियोपियामा गएका यी दुई पहिरोमा परेर ज्यान गुमाएका २२९ जनाको शव उद्धार टोलीले अहिलेसम्म निकालेको स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन् । गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेले बताएअनुसार मृतकहरूमा वयस्क र बालबालिकाहरू पनि छन् ।

जीवितै उद्धार गरिएका १० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । आइतबार भारी वर्षाका कारण पहिरो गएको डग्मावीले बताएका छन् । सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धार कार्यमा जुटेका बेला दोस्रो पटक पहिरो खसेपछि उनीहरू पनि माटोमुनि पुरिएका थिए । ‘हामी अझै खानतलासीको क्रममा छौँ’ उनले बीबीसीलाई भने ।

अहिलेसम्म २२९ शव निकालिएको गोफा प्रकोप व्यवस्थापन प्रमुख मार्कोस मोलासेले बताएका छन् । जीवितहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको तर मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । सयौँ मानिस घटनास्थलमा जम्मा भई माटोमा पुरिएका मानिसहरूको खोजीमा माटो खनिरहेको फुटेजहरू बाहिर आएका छन् ।

  • ९ श्रावण २०८१, बुधबार १०:५६ प्रकाशित