लुम्बिनीमा कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरेको हो । तर, यसप्रति संस्थापन इतर पक्षले तीव्र असन्तुष्टि जनाएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण कार्यक्रम राखिएको छ । शपथ ग्रहणमा सहभागी हुन नेता कार्यकर्ताहरु बुटवलमा भेला भएका छन् ।

कांग्रेसबाट कोको बन्दैछन् मन्त्री ?

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लगायतका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासँग काठमाडौंमा भेटेर मन्त्रीहरुको नामावली टुंगो लगाएका थिए ।

स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम करिब–करिब फाइनल भएको छ । न्यौपाने बाहेक ४ जना संस्थापन समूहका हुन् ।

  • ९ श्रावण २०८१, बुधबार ०९:१० प्रकाशित