बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त, शपथ भोलि

केन्द्रभाग मिडिया

पोखरा ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आज नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । आइतबार माओवादी नेतृत्वका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न सूचना जारी गरेका थिए । एमाले र कांग्रेसको समर्थनमा दाबी पेस गरेका लामालाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालय सहित ७ वटा लिने सहमती भएको छ भने एमालेले भौतिक सहित ६ मन्त्रालय लिने सहमती भएको छ ।

एमालेले प्रदेश सरकारमा जाने सबै मन्त्री र उनीहरूको विभाग टुंग्याउँदा कांग्रेसले भने हालसम्म मुख्यमन्त्री बाहेक अन्य मन्त्रीको नामको समेत टुंगो लगाउन सकेको छैन ।

  • ८ श्रावण २०८१, मंगलवार २०:२६ प्रकाशित