काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद्पीडितहरूलाई राहत उपलब्ध गराउनका लागि सबै जिल्लामा आवश्यक व्यवस्था मिलाइएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री लेखकले विपद्मा परी मृत्यु भएकाका परिवार र बेपत्ता भएकाका परिवारलाई राहत दिने कामलाई निरन्तर रुपमा अघि बढाइएको जानकारी दिए ।
विपद्पछिको खोज, उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ९५६ जना खटिइ ९८९ जनालाई सकुशल उद्धार गरिएको पनि गृहमन्त्री लेखकले बताए । उनले विपद्मा परेर १ सय ३० जनाको मृत्यु भएको र घाइते भएका १४४ जना मध्ये ५ जना बाहेक सबै उपचार गरी घर फर्किएको जानकारी दिए ।
‘यस वर्षको मनसुन सुरु भएको २०८१ जेठ २८ गतेदेखि हालसम्म देशभर विभिन्न प्राकृतिक प्रकोपका १ हजार ५९२ घटना भएका छन् । जसमध्ये हालसम्म १३० जनाको मृत्यु भएको छ भने १४४ जना घाइते भएका छन ।
४८ जना बेपत्ता भएका छन् । त्यसैगरी ५९४ पशु चौपायको नोक्शानी भएको छ । २३१ घर र ८४ गोठमा क्षति पुगेको छ । हालसम्म ४३ वटा सानाठूला पुल बगेका छन, भत्केका छन् । २ वटा सरकारी भवन भत्किएका छन्, लेखकले भने, ‘४ हजार ४ परिवार विस्थापित हुने अवस्था सृजना भयो । जसमध्ये १ हजार ५९ परिवारलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ भने बाँकी आफ्नै घरमा फर्किएका छन । मनसुनजन्य विपद्का कारणले देशका सबै ७७ वटै जिल्ला प्रभावित भएका छन् ।’
गृहमन्त्री लेखकले अधिकांश विपदका घटनामा नेपाली सेनासमेत खोज र उद्दारमा खटिएको जानकारी दिए ।