क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम)मा गोली चल्दा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए ।

यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् ।

उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् ।

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भएको भन्दै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । राष्ट्रपति मिलानोभिकले बन्दुक राख्न पाउने नियमलाई अझै कठोर बनाउन आह्वान पनि गरेका छन् ।

  • ८ श्रावण २०८१, मंगलवार ०९:०४ प्रकाशित