भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

  • ८ श्रावण २०८१, मंगलवार ०६:३५ प्रकाशित