पथ प्रदर्शकलाई टान गण्डकीको तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

काम गरिरहेका पथ प्रदर्शकलाई ट्रेकिङ एजेन्सिज एसोसीएसन अफ नेपाल (टान) गण्डकीले तालिम दिएको छ । उनीहरुलाई नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा ‘वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम’ दिइएको हो ।

पथ प्रदर्शकले पदयात्राका क्रममा भोगेका विभिन्न समस्या समाधान गर्न सिकाउने उद्देश्यले तीन दिनसम्म चलेको तालिममा ८८ जनाको सहभागिता थियो । तालिममा पदयात्राका क्रममा वन्यजन्तु भेटिँदा अप्नाउनुपर्ने सावधानी, आक्रमण भइहालेमा बच्ने उपाय, आफू वा पाहुना पर्यटक घाइते भएमा गरिने प्राथमिक उपचार, दुर्घटनामा वा वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उद्धार तथा पदयात्राको गन्तव्य पहिचानका लागि गरिने नक्साको प्रयोगसँगै हाईअल्टिच्यूड तथा छिनछिनमा हुने मौषम परिवर्तनमा अप्नाउनुपर्ने साबधानीबारे तालिम दिइएको टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

पुर्नताजगी तालिम भएकाले पदयात्रामा दशकौंदेखि काम गरिरहेका पथप्रदर्शकहरु सहभागि रहेको उनले बताए । ‘काम गरिरहेकाहरुले भोगेका समस्या समाधान कसरी गर्ने भन्ने केन्द्रीत तालिम हो । यसले पथ प्रदर्शकलाई आगामी दिनमा पदयात्रा सुरक्षित बनाउन सघाउँछ’ उनले भने ।

तालिममा नेभिगेसन र म्याप रिडिङबारे विज्ञ प्रेम गुरुङ, वन्यजन्तु सम्बन्धि एक्यापका आयोजना प्रमुख रवीन कडरिया, उद्धारबारे सशस्त्र प्रहरी बल कालिका गण पोखराका सशस्त्र प्रहरी उपरीक्षक अरुण शर्मा, प्राथमिक उपचार सम्बन्धि प्रदेश स्वास्थ्य निर्देशनालयका नवराज शर्मा, हाईअल्टिच्यूड तथा मौषम परिवर्तनसँगै अप्नाईनुपर्ने सतर्कताबारे माउण्टेन गाईड तथा सो विषयमा अध्यापनरत जगन तिमिल्सिना, शेषकान्त शर्मालगायतले सहजीकरण गरेको टान गण्डकीका सचिव तीर्थराज सुवेदीले जानकारी दिए ।

तालिमको समापनमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तालिमले पथप्रदर्शकलाई फूलचार्ज गराएको बताए । आज ट्रेनिङ दियो ६ महिनापछि ती तालिम लिएकाहरु बजरमा खोज्दा नपाउने स्थिति छ, उनले भने, ‘पथ प्रदर्शनमा त्यस्तो अवस्था हुने छैन भन्ने विश्वास गर्छु । यस तालिमले दक्ष जनशक्तिको अभाव मेटाउनेछ ।’

उनले ट्रेकिङका पथप्रदर्शक पर्यटनको ऐना भएको बताए । पथप्रदर्शकले पर्यटकमाथि जस्तो व्यवहार गर्छ, त्यो पर्यटकले आफ्नो देश फर्केर त्यस्तै प्रतिक्रिया जनाउने बताउँदै उनले भने,‘यहाँ तपाईंहरुले राम्रो गर्नुभयो भने उसले आफ्नो देश फर्केर नेपालको गुणगान गाउँछ, होईन, तपाईंले नराम्रो गर्नुभयो भने नराम्रो भन्दै हिंड्छ र देशको बेईज्जत हुन्छ ।’ त्यसैले पथप्रदर्शक पर्यटनको व्याकबोनसमेत भएको उनको भनाई छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले तालिमपश्चात दक्ष जनशक्तिको अभाव नहुने बताए । पर्यटन प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाले सक्दो पहल गरिरहेको भन्दै यसले पर्यटक बढ्ने उनको विश्वास छ । पोखरालाई पर्यटनको राजधानी घोषणादेखि अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मका काम भएका छन्, उनले भने, ‘यसले अवश्यपनि पर्यटक बढाउँछ । त्यसका लागि यो तालिमले दक्ष जनशक्ति उत्पादन गरेको छ भन्ने मैले विश्वास लिएको छु ।’

उक्त अवसरमा नेपाल पर्यटन वोर्डका पूर्व वोर्ड सदस्य तथा टान गण्डकीका पूर्व अध्यक्ष टीकाराम सापकोटाले ट्रेकिङ रुट नबिगार्ने तर रुट थप्दै जाने गर्नुपर्ने बताए । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पथप्रदर्शनका क्रममा आउने व्यवहारिक कठिनाई हटाउने ज्ञान थप्न तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

  • ७ श्रावण २०८१, सोमबार २०:२७ प्रकाशित