पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् ।

सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो ।

प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ ।

प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

  • ७ श्रावण २०८१, सोमबार ०९:२७ प्रकाशित