एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिको पदस्थापान

केन्द्रभाग मिडिया

पोखरा ।
एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले नवनिर्वाचित समितिको पदस्थापन गराएका हुन् ।

एलपी ग्यास बिक्रेता संघको १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले अध्यक्षमा नारायणदत्त दाहालसहित पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्ष बालकृष्ण कोइराला, उपाध्यक्ष शिवकुमार श्रेष्ठ, सचिव हरिकृण अधिकारी, कोषाध्यक्ष किरणकृष्ण तिवारी, सहसचिव गंगाधर बराल र सदस्यहरू विक्रम नेपाली, सुरज गुरुङ, खिमराज आचार्य, सन्तबहादुर
लामिछाने, दिनेश कार्की र पूर्णबहादुर थापा रहेका छन् । पदस्थापना कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यवसायीहरूले आफू पनि उपभोक्ता भएको बिर्सन नहुने बताए ।

उनले ग्यास अत्यावश्यक वस्तु भएकाले त्यसको बिक्री वितरणलाई सुरक्षित र सरल बनाउनुपर्नेमा पनि जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्षमा दायर गरेका मुद्दाहरू हेर्दा थोरैमात्र व्यवसायी र धेरै कर्मचारी तथा जनप्रतिनिधि परेको तथ्य पेस गर्दै जनप्रतिनिधिहरूमाथि दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले ट्राफिक प्रहरीको गलत रवैयाका कारण व्यवसायीहरू मर्कामा परेको जिकिर पनि गरे । उनले घुम्ती र कुनोमा बसेर ट्राफिकले सवारी जाँच गर्ने, कुनै गाडीको लाइट बलेको छैन भने एक हजार जरिवाना तिराउने तर त्यो लाइट बनाउन चाहिँ नभन्ने गरेको जिकिर पनि गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी सदस्य रामकाली खड्का, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यमनाथ पौडेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष धु्रवबाबु भट्टराई, एलपी ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्यास बिक्रेता संघका निवर्तमान अध्यक्ष बालकृष्ण कोइराला, नवनिर्वाचित अध्यक्ष नारायणदत्त दाहालसहित कार्यसमिति सदस्य सन्तबहादुर लामिछानेले पनि मन्तव्य राखेका थिए ।

  • ७ श्रावण २०८१, सोमबार ०७:१४ प्रकाशित